
काठमाडौं, आर्मीले शनिबार टीयू मैदानमा भएको फाइनलमा एपीएफलाई ३३ रनले हराएर प्रधानमन्त्रीकप पुरुष वान डे क्रिकेटको उपाधि जितेको छ ।
उपाधिको बलियो दाबेदार रहेको एपीएफको चुनौती समाप्त पार्दै आर्मीले दोस्रो पल्ट यो उपाधि हात पारेको हो ।
चार वर्ष अगाडि वर्षाले रद्द भएको खेलमा उपाधि साझेदारी गर्नु परेको आर्मीले यसपल्ट भने मैदानमै खेलेर यो सफलता चुमेको हो ।
यस्तै, यसअघिका लगातार दुई संस्करणको फाइनलमा बेहोरेको हार आर्मीलाई यसपल्ट भने भाग्यले पनि ठगेन । टस हारेर पहिले ब्याटिङका लागि ओर्लेको आर्मीले ५० ओभरमा नौ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो ।
त्यसमा हरि चौकानले सार्वधिक ५८ रन बनाए । उनले सुस्त ब्याटिङ गरे पनि आखिरमा यही निर्णायक प्रदर्शन सावित भयो ।
यस्तै, आर्मीका लागि राजेश पुलामीले २८ र साहब आलमले २५ रनको योगदान दिए । अभिनाश बोहोरा सर्वाधिक सफल बलर रहे । उनले २५ रनमा चार विकेट लिए ।
जवाफमा एपीएफ ४१.३ ओभरमा १ सय ७८ रन बनाएर अलआउट भयो । उसका लागि प्रारम्भिक ब्याट्सम्यान आसिफ सेखले सर्वाधिक ६१ रन बनाए, तर अन्य कसैले पनि गतिलो योगदान दिन सकेनन् ।







