
काठमाडौं, कुलेश्वरस्थित फलफूल बजारमा अन्य दिनजस्तै शुक्रबार पनि मानिसहरूको भिडभाड बाक्लै छ । थोक विक्रेताहरू रहने यो बजारका स्टल–स्टलमा मानिसहरू नगद गन्दै फलफूल बेच्दै गरेका छन् ,। तर, केही दिनयता सानै स्तरमा भए पनि परिवर्तन देखिन थालेको छ । केही स्टलहरूमा क्युआर कोडको प्रयोग गरेर व्यापारीहरूले फलफूल बिक्री गर्न थालेका छन् ।
नयाँ प्रविधिको प्रयोगले खरिद–बिक्री गर्ने दुवै पक्षले सहज महसुस गरिरहेका छन् । ‘यो प्रविधि धेरै सजिलो रहेछ,’ स्टल नम्बर १२ का सञ्चालक सुदीप पाण्डेले भने, ‘हाम्रोबाटै दैनिक ५० जना खुद्रा व्यापारीले फलफूल खरिद गरेर लैजान्छन्, पैसा हराउने, हिसाब नमिल्ने समस्या अहिले क्युआर कोडको प्रयोगपछि घटेको छ ।’ उनको एउटा स्टलमा मात्रै दैनिक औसतमा १ लाखमाथिको कारोबार हुन्छ ।
क्युआर कोडको प्रयोगले दैनिक संकलन भएको रकम बैंकमा जम्मा गर्न लाने झन्झटबाट पनि राहत प्रदान गरेको छ । उनले भने, ‘समय पनि बचत भएको छ, क्युआर कोडको प्रयोगबाट कारोबार गर्दा खातामै हिसाब मिलान भइरहेको हुन्छ, रकम राख्न जाने झन्झट छैन ।’ फलफूल बजारका सबै दुई सय स्टलमै क्युआर कोडको प्रयोग गर्न सकिने वातावरण बनाइएको नेपाल फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले बताए । ‘नयाँ अभ्यास छ, समय त लाग्छ,’ बानियाँले भने, ‘तर, हाम्रो कारोबारलाई पनि बैंकिङ प्रणालीमा लैजाने रहेको छ ।’
फलफूल बजारको सबै कारोबार क्युआर कोडबाट गर्न सकिएमा दैनिक करिब ३ करोड रुपैयाँको कारोबार नगदरहित हुनेछ । फलफूल बजारको कारोबारलाई व्यवस्थित गर्न नबिल बैंक लागिपरेको छ । बुधबार गभर्नर महाप्रसाद अधिकारीले यो प्रणालीको शुभारम्भ गरेका छन् । ‘राष्ट्र बैंकले यसलाई अभियानकै रूपमा लैजाँदै छ,’ अधिकारीले भने, ‘मलाई अहिलेको कारोबार प्रणाली सुधार्नु छ, नगदले ल्याउने विकृति हटाउन पनि यसलाई अभियानकै रूप दिइएको हो ।’
कुलेश्वर बजारमा कारोबार गर्दै आइरहेका खुद्रा व्यापारीहरूले पनि क्युआर कोड अपनाउन थालेका छन् । साइकलमा फलफूल बिक्री गर्दै आएका व्यापारी प्रमोद शाह पनि नबिल बैंकले दिएको क्युआर कोड कार्डको माला भिरेर हिँड्न थालेका छन् । ‘यो माला भिरेदेखि पैसा लुटिन छाडेको छ,’ प्रमोदले खुसी मनाए, ‘कुनै–कुनै समय काठमाडौंमा भित्री गल्लीहरूमा हाम्रो पैसा लुटिने गरेको थियो, अब त्यस्तो डर हटेको छ ।’ फलफूल बजार विद्युतीय भुक्तानीका लागि एउटा सुपर स्प्रेडर (द्रुत विस्तारक) हुन सक्ने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए । उनले भने, ‘यो बजार काठमाडौंमा गल्ली–गल्लीमा पुगेर कारोबार गर्ने खुद्रा विक्रेताहरू र थोक विक्रेताको संगमस्थल पनि हो ।’
क्युआर कोडको प्रयोगलाई देशव्यापी बनाउने अभियानमा अहिले विभिन्न बैंकहरू लागेका छन् । पछिल्लो एक महिनामा मात्रै उपत्यकाका चार फलफूल तथा तरकारी बजारमा यसको प्रयोग भइसकेको छ । सानिमा बैंकले नक्साल तरकारी बजारबाट सुरु गरेको अभियानमा जोडिँदै प्रभु बैंकले कालिमाटी बजारमा, नबिल बैंकले कुलेश्वर र एनएमबि बैंकले बल्खु तरकारी बजारमा विस्तार गरेको आजको नयाँ पत्रिकामा खबर छ ।







