
काठमाडौं, त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
बिहिवार भएको दोस्रो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ९४ रनले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।
टीयू मैदानमा भएको खेलमा आर्मीले पहिले ब्याटिङ गर्दै ५० ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन बनाएको थियो ।
खराब सुरुआत लिएर एक समय १७ रन बनाउँदा तीन विकेट गुमाएको आर्मीका लागि मध्यक्रमका ब्याट्सम्यानले गतिलो योगदान दिए । भीम सार्कीले ४० र कप्तान विनोद भण्डारीले ६५ रन बनाए ।
गौतम केसी सर्वाधिक सफल बल रहे र उनले ६१ रनमा ५ विकेट लिए । जवाफमा वाग्मतीले ४०.२ ओभरमा सबै विकेट गुमाउन अगाडि १ सय ३५ रन मात्र जोड्न सक्यो । वाग्मतीको पनि सुरुआत खराब रह्यो र उसले १८ रन मात्र बनाउँदा ५ विकेट गुमाइसकेको थियो ।
अब उपाधिका लागि आर्मीले एपीएफसँग खेल्नेछ । पुलिसलाई हराएर एपीएफ यस अघि नै फाइनल पुगिसकेको छ । फाइनल खेल शनिबार हुनेछ । सो प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् ।







