
सरकारले चीनसँग नेपालको सीमा विवाद नरहेको स्पष्ट पारेको छ । परराष्ट्र मन्त्रालयले बिहिवार विज्ञप्ति जारी गर्दै सीमा विवादसम्बन्धी समाचार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको एक रिपोर्टका आधारमा प्रकाशन भएको तर कृषि मन्त्रालयले नै त्यस्तो प्रतिवेदन अस्तित्वमा नै नभएको बताएको पनि विज्ञप्तिमा परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।
त्यस्तै, हराएको भनिएको ३७ र ३८ नम्बरको सीमा स्तम्भ राख्दै नराखिएको मन्त्रालयले जनाएको छ । प्राकृतिक कारणले दुई देशबीचकै सहमतिमा ती स्तम्भ नराखिएको परराष्ट्रको भनाइ छ । नेपाल र चीनबीचको सीमा सन् १९६१ अक्टोबर ५ मा दुई देशबीच भएको सीमा सम्झौताले निर्धारण गरेबमोजिम रहेको परराष्ट्रले उल्लेख गरेको छ ।सीमासम्बन्धी केही समस्या देखिएमा दुई देशबीचको समझदारीमा समाधान गर्ने पनि परराष्ट्रले विज्ञप्तिमा उल्लेख गरेको छ ।







