
काठमाडौं, काठमाडौं महानगरपालिका–३१ का कुमार आछामीको नागरिकतामा नाम ‘कुमार सार्की’ छ । पहिले नागरिकता बनाउँदा कर्मचारीले थर राखिदिएनन्, अहिले उनले थर राखेर नागरिकता बनाउन पाइन्छ भन्ने थाहा पाए । तर, जति प्रयास गर्दा पनि थर राख्न पाएनन् ।
उनी नागरिकताको नाम सच्याउन प्रशासन कार्यालय पुगे । प्रशासनले वडाको सिफारिस लिएर आउन भन्यो । उनी सिफारिस लिन वडा कार्यालय पुगे । नाम सच्याएर नागरिकता लिन सिफारिस माग गर्दै उनले निवेदन पनि दिए ।
तर, वडाध्यक्ष नारायणप्रसाद भण्डारीले सिफारिस दिन मानेनन् । ‘तँ दलित होस्, यहाँ त्यही लेख्या छ, यसले के फरक पर्छ ?’ वडाध्यक्ष भण्डारीले उल्टै प्रश्न गरे । वडाध्यक्षको बोलीको प्रतिकार गर्ने हिम्मत कुमारले गरेनन्, र त्यसै घर फर्किए ।
ज्याला मजदुरी गरेर दैनिकी चलाउने उनी आफूलाई बोल्न नसक्ने ठानेर विभेद भएको महसुस गर्छन् । ‘अरू धेरैले नागरिकतामा थर राखे, मैले पनि फेर्न भनेर सोचेको हुँ,’ कुमार भन्छन् ।
त्यस्तै, रामेछापको मन्थली नगरपालिका–९ की मीनकुमारी सेन्चुरीले जात प्रमाणितको सिफारिस लिन मंसिर पहिलो साता जिल्ला प्रशासन कार्यालयमा निवेदन दिइन् । उनलाई नेपाल प्रहरीमा भर्नाका लागि समावेशीतर्फ फारम भर्न जात प्रमाणितको सिफारिस चाहिएको थियो । तर, एउटा सामान्य सिफारिसका लागि उनले करिब दुई साता कुर्नुपर्यो, जबकि प्रशासनकै नागरिक बडापत्रमा एकै दिनमा सिफारिस पाउने उल्लेख छ ।
वडा कार्यालयको सिफारिससमेत लिएर गएकी उनलाई प्रशासनले किन सिफारिस दिएन त ? त्यसको जड थियो उनको थर । उनका बुबाको नागरिकतामा नामपछि थर नभएर सीधै जात अर्थात् ‘इन्द्र कामी’ लेखिएको छ । तर, मीनकुमारीको नागरिकतामा भने थर अर्थात् ‘मीनकुमारी सेन्चुरी’ उल्लेख छ । उनको सर्टिफिकेटमा पनि जात नलेखेर थर लेखिएको छ ।
कागजातमा थर मात्रै लेखिएकै कारण समावेशीतर्फ दलितले जात प्रमाणित सिफारिस ल्याएपछि मात्रै आवेदन दिन पाउने व्यवस्था छ । तर, मीनकुमारीलाई भने तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले नागरिकतामा थर लेखेका कारण जाति प्रमाणित गर्न नमिल्ने बताइन् । जबकि वडा कार्यालयको सिफारिस र मीनकुमारीका बुबाको नागरिकताले नै उनको जात ‘कामी’ भएको प्रस्ट बोलिरहेका थिए ।
उनले जिल्ला प्रशासन कार्यालयमा अपमानित भएको महसुस गरिन् । ‘तपाईंको कागजात र नागरिकतामा जात उल्लेख छैन, त्यसैले तपाईं कामी हो भन्ने प्रमाणित हुँदैन, र तपाईंले सिफारिस पाउनुहुन्नँ,’ शर्माले भनेको सम्झिँदै मीनकुमारी सुनाउँछिन्, ‘सिफारिस चाहिने भए मन्त्रालय गएर चिठी लिएर आउन भन्नुभयो ।’
२५ वर्ष बित्दा पनि निर्णय कार्यान्वयन भएन
प्रशासन कार्यालयले दलितलाई दलित भएको प्रमाणित सिफारिस गर्नसमेत आनाकानी गरेको विषय बाहिरिएपछि अधिकारकर्मी र जनप्रतिनिधिहरूले सिडिओलाई ध्यानाकर्षण गराए । त्यो टोलीमा नगर कार्यपालिका सदस्य उद्धव रम्तेल र मीनकुमारीकी भाउजू, उनकै वडाकी दलित महिला वडासदस्य रिता सेन्चुरी पनि थिए । ‘सिफारिस नदिएको बुझेपछि हामीले प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्यौँ, दलितले पनि थर लेख्न पाउने व्यवस्था र गृह मन्त्रालयले नै यसअघि गरेका परिपत्र हेर्न भनेपछि बल्ल बहिनीले सिफारिस पाइन्,’ मन्थली नगर कार्यपालिकाका सदस्य रम्तेलले भने । नयाँ पत्रिकाबाट







