
वासिङ्टन, अमेरिकी कंग्रेसको दुवै सदनका विपक्षीहरूले राष्ट्रपति डोनल्ड ट्रम्पलाई राष्ट्रपति पदबाट तत्काल हटाउन माग गरेका छन् ।
बुधवार अमेरिकी संसद् भवनलाई ट्रम्पका समर्थकहरूले हिंसात्मक तवरले कब्जा गरेपछि विपक्षीहरूले यस्तो माग गरेका हुन् । डेमोक्र्याटिक सिनेटर चक सुमरले ट्रम्पलाई तुरुन्तै हटाउनुपर्ने बताएका छन् ।
सभामुख न्यान्सी पेलोसीले यदि उनलाई नहटाइए उनीमाथि महाअभियोग लगाउन सकिने बताएकी छन् । ट्रम्पलाई राष्ट्रपतिबाट हटाउनका लागि रिपब्लिकनहरूको समर्थन आवश्यक हुन्छ । हालसम्म केही रिपब्लिकनले मात्र उनलाई हटाउनुपर्ने कुरामा साथ दिएका छन् ।
उक्त झडपमा परेर चार जनाको निधन भएको छ भने हालसम्म ६८ जना पक्राउ परेका छन् । प्रहरीको कारबाही व्यापक छानबिनको दायरामा आएको छ । प्रहरी अधिकारीहरूले दङ्गा भड्काउनेहरूलाई नियन्त्रण गर्न नसकेकोमा व्यापक आलोचना खेपिरहेका छन् ।
हाउस अफ रेप्रिजेन्टेटिभ्सको सुरक्षामा जिम्मेवार सुरक्षा प्रमुखले राजीनामा दिएका छन् । सुमरले सिनेटका सुरक्षा प्रमुखलाई पनि हटाउनुपर्ने बताएका छन् । राष्ट्रपति-निर्वाचित जो बाइडनले भनेका छन्, “यदि ब्ल्याक लाइभ्स म्याटरका प्रदर्शनकारी थिए भने क्यापिटलमा हिजो हुलदङ्गा गर्नेहरूलाई भन्दा अलग व्यवहार गरिदैँन थियो भनेर मलाई कसैले भन्नसक्ने छैनन्।”
यूएस क्यापिटल प्रहरीका प्रमुखले चाहिँ आफ्ना अधिकारीहरूले अपराधिक र दङ्गायुक्त व्यवहारको सामाना गरेको र अधिकारीहरूको कार्य नायकले गर्नेजस्तै भएको बताए ।
पेलोसीले चाहिँ उनलाई राजीनामा गर्न आह्वान गरेकी छन् । डीसी प्रहरी यूनियनले त्यस्तो घटनाका लागि क्यापिटल प्रहरी जनशक्ति र स्रोतका हिसाबले कमजोर रहेको बताएको छ ।
उक्त घटनालाई लिएर ट्रम्प प्रशासनका कैयौँ अधिकारीहरूले राजीनामा दिएका छन्। त्यसरी राजीनामा दिनेमा यातायातमन्त्री एलेन चाओ अन्तिम उच्च अधिकारी भएकी छन् । ट्रम्पलाई हटाउनुपर्ने माग गर्नेमा बाइडनको डेमोक्र्याटिक पार्टीका सांसदहरू धेरै रहेका छन् ।एजेन्सी






