
काठमाडौं, सरकारसँग चार बुँदे सम्झौता गरी आन्दोलन स्थगित गरेका उखुु किसानले आठ दिनसम्म पनि कुनै भुक्तानी पाएका छैनन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उखु किसानबीच पुस १४ गते चार बुँदे सम्झौता भएको थियो तर सम्झौता भएको दिनदेखि हालसम्म एक पैसा पनि भुक्तानी नभएको उखु किसान सङ्घर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रले दाबी गरेका छन् ।
सम्झौताअनुसार सम्झौता भएको दिनदेखि २१ दिनभित्र सबै बक्यौता रकम भुक्तानी गराउने मन्त्रालयले प्रतिबद्धता जनाएको थियो तर अहिले पूरै भुक्तानी ठप्प भएको उनले बताए । बरु आन्दोलन गरिरहेको अवधिमा ३३ करोड रुपियाँ किसानको खातामा आएको थियो तर सम्झौता भएको आज नौ दिन भइसक्दा पनि किसानको खातामा एक पैसा पनि नआएको उनले बताए ।
उनले भने, “उद्योग मन्त्रीले सम्झौता भएको दिनदेखि प्रत्येक दिन केही न केही रकम किसानको खातामा दिन लगाउने भन्नुुभएको थियो तर अहिलेसम्म कुनै रकम आएन । ”
उद्योगीले भने आफूहरूको खाता सरकारले रोक्का गरेका कारण भुुक्तानी गर्न नसकेको प्रतिक्रिया दिएको संरक्षक मिश्रले बताए । किसानको भुक्तानी नदिएका कारण सरकारले उद्योगीको खाता रोक्नुका साथै जग्गा जमिनसमेत रोक गरेको छ तर उद्योगीले अहिले त्यही बहानामा किसानको भुक्तानी दिइरहेका छैनन् ।
तर उद्योग मन्त्रालयले भने किसानको भुक्तानी दिनका लागि खाता रोक्काले कुनै बाधा नहुने जनाएको छ ।
उद्योगीले किसानलाई भुक्तानी दिन मिल्ने उद्योग मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले बताए ।
उद्योगीलाई २१ दिनको समयसीमा तोकिएकामा भुक्तानी भए÷नभएकोबारे मन्त्रालयमा कुनै जानकारी नआएको उनले बताए । भुक्तानी दिलाउने विषयमा मन्त्रालय गम्भीर भएर निगारानी बढाएको उनले बताए ।
सम्झौता भएअनुसार उखुु किसान र उद्योगीबीच देखिएको केही असमझदारीका बारेमा अध्ययन गर्न मन्त्रालयका सहसचिव नारायण रेग्मीको संयोजकत्वमा एक प्रविधिक समिति गठन गरिएको र त्यो समितिले आफ्नो अध्ययन थालेको पनि उनले जानकारी गराए ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुुरेन्द्र पौडेलले पनि खाता रोक्का कारण किसानको भुक्तानी रोकिएको बताए । आन्दोलनका क्रममा यो जिल्लामा आठ करोड रुपियाँ भुक्तानी भएको छ तर सम्झौता भएयता खाता रोकाका कारण नभएको उनले बताए । खाता रोका भए पनि भुक्तानी कसरी गर्न सकिन्छ त्यसका बारेमा पहल भइरहेको उनले जानकारी दिएको आजको गोरखापत्र दैनिकमा खबर छ ।







