
वासिङ्टन, अमेरिकी संसदमा भएको हिंसात्मक प्रदर्शनमा एक महिलाको मृत्यु भएको छ । बुधवार प्रदर्शनका क्रममा ती महिलाको छातिमा गोली लागेको र केही समयपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक महिलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको झण्डा बोकिरहेकी थिइन र त्यतिनै बेला उनको छातिमा गोली लागेर उनी तल खसेको बताइएको छ ।
अमेरिकी समयअनुसार ३ बजे उनलाई क्यापिटल बिल्डिङबाट निकालिएको थियो । अमेरिकी संसद क्यापिटल बिल्डिङमा ट्रम्पका समर्थकहरूले हिंसात्मक आन्दोलन गरेका हुन् ।
सांसदहरूले जो बाइडनको जीतको पुष्टि गर्न छलफल गरिरहेका बेला ट्रम्पका समर्थकहरुले यस्तो हंगामा गरेका थिए । सदनमा बहस चलिरहेकै समयमा उनुहरुले चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप समेत भएको थियो । अवस्था नियन्त्रण बाहिर गएपछि त्यहाँको नेशनल गार्डलाई क्यापिटल हिल पठाइएको फक्स न्यूजले जनाएको छ ।एजेन्सी






