
काठमाडौं, कानुनविद् र नागरिक समाजका अगुवाले संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदम न्यायालयले सच्याउने विश्वास व्यक्त गरेका छन् । मंगलबार जनता समाजवादी पार्टीले आयोजना गरेको ‘सरकारको असंवैधानिक कदम र राजनीतिक संकट’ विषयक अन्तरक्रियामा सहभागी उनीहरूले देशले नै चासोपूर्वक पर्खेको मुद्दामा एक सेकेन्ड पनि ढिला नगरी निर्णय लिनुपर्ने मत राखे । संविधानको मर्म बुझाइमा समस्या परे यसका निर्मातासँग राय लिन पनि अदालतलाई उनीहरूको सुझाब छ ।
पूर्वन्यायाधीश गिरीशचन्द्र लालले सर्वाेच्च अदालतप्रति अलिकति पनि आफूलाई संशय नभएको बताए । अदालतले संविधानअनुसार निर्णय गर्ने उनको विश्वास थियो । ‘हाम्रो सर्वाेच्च अदालतप्रति सम्मान छ, त्यहाँबाट न्याय पाइन्छ भन्ने दृढविश्वास कायम छ । सर्वोच्च अदालतले के गर्ला, नगर्ला भन्ने आइरहेको छ । सर्वाेच्च अदालतले राम्रै काम गर्छ, ठिकै काम गर्छ, लोकतन्त्रको पक्षमा गर्छ, न्यायको पक्षमा गर्छ, कानुनका सिद्धान्तलाई मनन गरेर गर्छ,’ लालले भने, ‘उसले आफ्नो पृष्ठभूमिमा लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशीलाई राख्छ । यी सबै संविधानको प्रस्तावनामा व्यक्त छ, त्यो सबै उसले मनन गरेर निर्णय गर्छ भन्नेमा संशय व्यक्त गर्न चाहन्नँ । अदालतले आफ्नो विश्वास र प्रतिष्ठा बढाउन पनि राम्रै व्याख्या गर्ला । मेरो मनमा संशय छैन, मेरो अनुरोध छ– त्यो संशय कसैले पनि नराखिदिनुस् ।’
अदालतमा विचाराधीन मुद्दामा बोल्नै नहुने भन्ने विषयमा लालले असहमति जनाए । न्यायाधीशहरूलाई गाली गर्नसमेत हुने उनको भनाइ थियो । ‘अदालतको मानहानि हुन्छ, अदालतको काममा हस्तक्षेप हुन्छ भन्ने बिलकुलै छैन । अदालतले गरिदिएको निर्णयलाई मान्नुपर्छ । अदालतले गरेको काममा कुनै प्रकारको बाधा–अवरोध गर्नुहुँदैन,’ उनले भने, ‘तर, अदालतसँग न्यायको आशा छ, अदालतले न्याय दिन्छ भन्ने मानेर शान्तिपूर्ण ढंगले भन्नु, जुलुस गर्नु, कुनै पत्रिकामा लेख्नु र पुराना नजिर यस्ता छन् भन्नु मानहानि होइन, हस्तक्षेप हुँदैन ।’
अदालतसँग न्यायको आशा छ, अदालतले न्याय दिन्छ भन्ने मानेर शान्तिपूर्ण ढंगले भन्नु, जुलुस गर्नु, कुनै पत्रिकामा लेख्नु र पुराना नजिर यस्ता छन् भन्नु मानहानि होइन, हस्तक्षेप हुँदैन ।
उनले थपे, ‘अदालतलाई गाली गर्नु पनि हस्तक्षेप होइन । हामी भगवान्लाई पनि गाली गर्छौँ । भगवान्लाई गाली गर्छौँ, अदालतका न्यायाधीशलाई दुई–चारवटा गाली गरिदियो भने के फरक पर्छ ? केही फरक पर्दैन । हामी प्रधानमन्त्रीलाई पनि गाली गर्छौँ । प्रधानन्यायाधीशलाई उसको काममा बाधा नहोस् भन्ने वातावरण जोगाइराख्नुपर्छ । प्रधानन्यायाधीश वा न्यायाधीशले गरेका फैसलालाई मान्न तयार हुनुपर्छ ।’
अदालतले निर्णय गर्ने वेलामा संविधान निर्मातासँग पनि त्यतिवेलाको आशय बुझ्नुपर्ने प्राध्यापक कृष्ण खनालको भनाइ थियो । उनले अदालतले यो विषयमा निर्णय लिन ढिला गर्न नहुने बताए । ‘न्यायाधीशले संविधान निर्माताको राय के थियो भन्नेबारे पनि बुझ्नुपर्छ । ६ सय एकमध्ये केही हुनुहुन्न होला, अरू त हुनुहुन्छ नि ! आज दुई सय वर्ष बितिसक्दा पनि अमेरिकी संविधानको व्याख्या हुँदा ‘फाउन्डिङ फादर’ले के भन्थे भनेर छलफल हुन्छ । जब कि ती मान्छे कोही पनि उपस्थित छैनन्,’ खनालले भने, ‘आज ६ सय एकमा दुई–चारजना हुनुहुन्न होला, सबै मौजुदा रहेको अवस्थामा अदालतले सोच्नै नपर्ने अवस्था छ । ढिलो किन भइरहेको छ, मैले बुझेको छैन । यत्रो ठूलो मुलुकले भोगेको समस्यामा कति दिन पर्खेने ? अहिले यो २४ घन्टा खडा हुनुपर्ने विषय हो । यसका लागि एक मिनेट, एक सेकेन्ड पनि कसैले पर्खन सक्दैन । मुलुकलाई दुर्घटनामा लैजान पाइन्छ ? यसमा अदालत साक्षी बस्ने ? अदालतले के निर्णय गर्छ भन्नेमा मलाई चिन्ता छैन, अदालतले ढिलो किन गरेको छ ? त्योचाहिँ सबैले औँला ठड्याएर भन्नुपर्छ ।’
खनालले संसद् विघटन संविधानको भित्ता फोडेर गरिएको कदम भएको टिप्पणी गरे । उनले भने, ‘मैले अहिलेका प्रधानमन्त्री केपी ओलीलाई कहिल्यै पनि, जीवनभरि नेतृत्वको योग्य मान्छे ठानिनँ । व्यक्तिका बारेमा बढी पूर्वाग्रह राखेँ कि भनेर कहिलेकाहीँ सोच्दै थिएँ, तर अहिले आएर त्यो मेरो भ्रम निवारण भयो ।’
सर्वाेच्चले संसद् पुनस्र्थापना गर्ने कुराको विश्वास आफूलाई रहेको नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको भनाइ थियो । उनले भने, ‘सर्वाेच्च अदालतमा यो विचाराधीन छ । भोलिदेखि निरन्तर सुनुवाइको व्यवस्था गरिएको छ । त्यहाँबाट पक्कै पनि संविधानले जे भन्छ त्यसअनुसार सर्वाेच्च अदालतले निर्णय दिन्छ । हामी विश्वास गर्दछौँ । संविधानअनुसार विघटन नभएको हुँदा पुनर्स्थापना हुने सोच र विश्वास लिनुपर्छ ।’ प्रधानमन्त्रीले पार्टीको विषय ल्याएर संसद् विघटन गर्नु अमिल्दो भएको श्रेष्ठले बताए । ‘विघटन गर्दा उहाँले एकातिर म झन्डै दुर्ईतिहाइ बहुमतको सरकार हुँ भन्नुभएको छ, अर्काेतिर पार्टीको आन्तरिक गढबढीको कारणबाट काम गर्न पाइनँ र कदम चाल्नुपर्यो भन्नुभएको छ,’ बार अध्यक्ष श्रेष्ठले भने, ‘पार्टीभित्रको विवादमा संसद् विघटन गर्न सक्ने अधिकार संविधानले दिएको छैन । पार्टीभित्रको विवाद सम्बन्धमा हल गर्ने तरिका राजनीतिक दलसम्बन्धी ऐन छ । आन्तरिक झगडाले जनताबाट चुनिएर गएको प्रतिनिधिको संसद् विघटन गर्न सक्ने अधिकार संविधानले दिएको छैन ।’नयाँ पत्रिकाबाट







