
काठमाडौं, कोरोना भ्याक्सिन बनेको खुशीको खबर आइरहेका बेला एक भयानक खबर पनि आएको छ । पोर्चुगलमा फाइजरको भ्याक्सिन लगाएको दुई दिनमै एक महिला स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।
सोनिया असेवेदो क्यान्सर अस्पतालमा काम गर्थिन् । कोरोना भ्याक्सिन लिएको करिब ४८ घण्टामा उनको अचानक मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
डेलिमेलमा छापिएको एक समाचार अनुसार दुई बच्चाकी आमा सोनिया पोर्चुगल इन्स्टीट्युट अफ अन्कोलोजीमा काम गर्थिन् । फाइजरको भ्याक्सिन लगाएपछि उनमा कुनै साइड इफेक्ट भने देखिएको थिएन ।
सोनियाका पिता अबिलियो असेवेदोले एक स्थानीय मिडियासँग कुरा गर्दै खोप लगाएपछि आफ्नी छोरीको हालत सामान्य नै रहेको बताएका छन् । तर, उनले आफ्नी छोरीको मृत्यु के कारणले भएको हो भन्ने जान्न खोजेको बताएका छन् ।
सोनियाको अस्पताले पनि उनलाई फाइजरको भ्याक्सिन लगाइएको पुष्टि गरेको छ । अस्पतालका अनुसार ३० डिसेम्बरमा जब सोनियालाई भ्याक्सिन लगाइयो तब उनीमा कुनै लक्षण देखिएका थिएनन् ।
अस्पतालले सोनियाको मृत्युको कारणबारे छानबिन चलिरहेको बताएको छ । मृतक सोनिया क्यान्सर अस्पतालमा पछिल्लो १० वर्षदेखि कार्यरत थिइन् । उनी परिवारसँग बस्दै आए पनि मृत्यु भने एक पाट्नरको घरमा भएको छ ।
भ्याक्सिन लगाएपछि सोनियाले फेसबुकमा आफ्नो फेसमास्कका साथ तस्वीर साझा पनि गरेकी थिइन् । साथै उनले लेखेकी थिइन्, ‘आज मैले कोरोनाको भ्याक्सिन लगाएकी छु ।’
सोनियाका पिताका अनुसार उनी नयाँ वर्षको पूर्वसन्ध्यामा आफ्नो पाट्नरसँग खुशीयाली मनाउन गएकी थिइन् । तर, बिहान सोनियाको मृत्युको खबर आएपछि आफू झसंग भएको सोनियाँका पिताले बताएका छन् ।
सोनियाको अचानक भएको मृत्युले फाइजरको भ्याक्सिनमाथि कैयौं प्रश्न खडा गरेको छ । सोनियाका साथै अस्पतालका अन्य पाँचसय ३८ जना कर्मचारीले पनि यो भ्याक्सिन लगाएका थिए । सोनियाको मृत्युपछि सबै कर्मचारी त्रसित बनेका छन् भने पोर्चुगलका स्वास्थ्य अधिकारीहरु यस अचानक भएको मृत्यु घटनाबारे अनुसन्धान गरिरहेका छन् ।






