
होबार्ट, अस्ट्रेलियामा जारी बिग बास लिगमा सोमबार भएको खेलमा होबार्ट हरिकेन्स पराजित भएको छ । सन्दीप लामिछानेको टिम होबार्ट हरिकेन्स मेलबर्न स्टार्ससँग १० रनले पराजित भएको छ ।
जितका लागि १ सय ८४ रनको लक्ष्य पछ्याइरहेको होबार्टले ६ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउन सक्यो ।
उसका लागि बेन म्याकडरमटले सर्वाधिक ९१ रन बनाए । अन्य ब्याट्सम्यानले भने गतिलो योगदान दिन सकेनन् र नियमित अन्तरमा विकेट गुमाउन बाध्य रह्यो ।
मेलबर्नका बलरमध्ये साम रेनबर्गले दुई विकेट हात पारे । यसअघि मेलबर्नले ६ विकेटमा १ सय ८४ रन बनाएको थियो । त्यसमा मार्कस स्टोइनसले ९७ रन बनाए र नटआउट रहे ।
सन्दीपले चार ओभरमा ३६ रन खर्चे र एक विकेट लिए । उनले ग्लेन म्याक्सवेललाई एलबीडब्लू आउट पारे ।







