
नयाँदिल्ली, भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या सोमबारसम्म एक करोड तीन लाख ४० हजारभन्दा बढी पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा १६ हजार ५०४ नयाँ सङ्क्रमित फेला परेसँगै कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड तीन लाख ४० हजार ४६९ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
गत २४ मा भारतमा कोरोना सङ्क्रमणको कारण २१४ जनाको मृत्यु भएसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ४९ हजार ६४९ जना पुगेको हो ।
मन्त्रालयको पछिल्लो विवरणमा ९९ लाख ४६ हजार ८६७ व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ४३ हजार ९५३ सक्रिय सङ्क्रमित रहेका छन् ।
भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ४२४ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १४ जनाको मृत्यु भएको छ ।
भारतमा कोभिड–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ५८५ जनाको मृत्यु भइसकेको छ । एजेन्सी






