
काठमाडौं, सरकारले आगामी वैशाखमा गर्ने घोषणा गरेको मध्यावधि निर्वाचनको बजेट निर्माणको तयारीमा निर्वाचन आयोग लागेको छ । आयोगले निर्वाचन अवधिभरमा हुने काम र त्यसका लागि आवश्यक खर्चको अनुमान गर्दै बजेट तयार गर्न थालेको हो ।
डेढ साताभित्रै आवश्यक बजेटको अनुमानित विवरण बनाएर अर्थ मन्त्रालयमा पठाउने तयारी भइरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । आगामी १७ र २७ वैशाखमा मध्यावधि चुनाव गर्ने सरकारकै तयारी छ । चुनाव घोषणापछि प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरिसकेका छन् ।
उक्त छलफलमा तोकिएको समयमा निर्वाचन गराउन आवश्यक सुरक्षा र बजेटको व्यवस्था गर्न निर्वाचन आयोगले प्रधानमन्त्रीलाई आग्रह गरेको थियो । छलफलमा उपस्थित अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुनावका लागि बजेटको कमी हुन नदिने बताएका थिए ।
संसद् विघटनविरुद्ध सर्वोच्चमा मुद्दा परेपछि अहिले मध्यावधि चुनाव पनि अनिश्चित छ । यद्यपि, आयोगले भने वैशाखमा निर्वाचन हुने मानेर तयारी गरिरहेको प्रवक्ता श्रेष्ठले बताए । ‘आयोगको काम नै चुनाव गराउने हो, हामीले जुनसुकै वेला चुनाव गराउनुपर्ने हुन्छ,’ उनले भने, ‘अहिले सरकारले चुनाव घोषणा गरिसकेको सन्दर्भमा आयोगले तयारी थालिसकेको छ ।’
स्रोतको खोजी गर्दै अर्थ मन्त्रालय
घोषणा भएअनुसारको मध्यावधि निर्वाचनका लागि आवश्यक बजेट उपलब्ध गराउन अर्थ मन्त्रालयले स्रोतको जोहो गर्न थालेको छ । निर्वाचनका लागि करिब २० अर्ब रुपैयाँ खर्च हुने अनुमान गर्दै स्रोत खोज्ने काम भइरहेको अर्थ मन्त्रालयका उच्च अधिकारीले बताए ।
‘प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा पुगेको अवस्था छ, यसर्थ चुनाव हुने–नहुने टुंगो अझै लागिसकेको छैन, तर मन्त्रालयले आफ्नो तयारी गरिरहेको छ,’ उनले भने, ‘आयोगले पनि बजेटको माग गरिसकेको छैन, यद्यपि चुनावमा १८ देखि २० अर्ब रुपैयाँ खर्च हुने अनुमानसहित स्रोतको खोजी भइरहेको छ ।’ नयाँ पत्रिकाबाट







