
लागोस, नाइजेरियाको लागोसमा शुक्रबार राति र आइतबार गरी बन्दुकधारीहरुले विद्यालयमा आक्रमण गरी त्यहाँका ३०० भन्दाबढी विद्यार्थी अपहरण गरेका थिए । उक्त अपहरणको घटनाको जिम्मा त्यहाँको आतंककारी समूह बोको हरामले लिएको छ ।
त्यहाँका सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार बन्दुकधारीहरुले गरेको सो हमलामा परी ३ सय ३३ जना बालबालिका हराएका थिए । ती बालबालिकालाई तिनै आक्रमणकारीहरुले अपहरण गरी लगेको अनुमान गरिएको थियो ।
बोको हराम नामक त्यहाँको आतंककारी संगठनले बुधबार ती बालबालिका आफूहरुले अपहरण गरी लगेको र अहिले पनि उनीहरु आफूसँगै रहेका बताएको छ ।
हाल अपहरणकारीहरु सरकारी खोजकर्ताहरुको सम्पर्कमा आएका छन् र उनीहरुसँग बालबालिकालाई मुक्त गर्ने विषयमा कुराकानी भइरहेको छ ।
नाइजेरियाको बोको हराम आतंककारी समूहले विद्यालयबाट विद्यार्थीहरुलाई अपहरण गरेर लैजाने र आफ्नो सैन्य समूहमा भर्ती गर्ने गर्दछन् । तर यसपटक भने उनीहरुले पश्चिमा शिक्षालाई निषेध गरिनुपर्ने माग गरेका छन् ।एजेन्सी






