
जनता समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दै संशोधन विधेयक दर्ता गराएपछि पार्टीले उनलाई सो विधेयक फिर्ता लिन निर्देशन दिएको छ । सांसद गिरीले आज संसद सचिवालयमा दर्ता गराएको विधेयकमा संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा २ हटाउन माग गरेकी थिइन ।
तर उनले नेपालको संविधानको दोस्रो संशोधन संसदीय दलका निर्देशन विना नै संशोधन हालेको हुँदा सो संशोधन तुरुन्त फिर्ता लिनका लागि पार्टीले निर्देशन दिएको छ । संशेधन फिर्ता नलिए पार्टीले कारवाही गर्न बाध्य हुने पत्र पठाएको बुझिएको छ । उनले आज विधेयक दर्ता गराएपछि उनको चौतर्फी आलोचना भएको छ ।






