
काठमाडौं, नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) काे दशाैँ संस्करण होबार्ट हुरिकेन्सबाट खेल्न भएका छन् ।
होबार्टले बिहीबार बिहान विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिएका छन् ।
यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए । उनले दुवै सिजनमा गरी बीबीएलमा २० खेल खेल्दै २६ विकेट लिएका थिए ।
सन्दीपसँगै टी २० का नम्बर वान ब्याट्सम्यान डेविड मालानले पनि हाेबार्टबाट खेल्नेछन् । यस्तै वेष्ट ईन्डिजका अलराउण्डर किमाे पउल पनि हाेबार्टमा अनुबन्धित भएका छन् ।
बीबीएलको नयाँ सिजन आगामी डिसेम्बर १० अर्थात् मङ्सिर २५ गतेदेखि शुरु हुनेछ । यस सिजनमा हरेक टिमले तीन विदेशी खेलाडीलाई प्लेइङ सेटमा राख्न पाउने छन् ।







