
काठमाडौ, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा छठलगत्तै लिने भएको छ । बोर्डको आइतबार साँझ बसेको बैठकले कार्यविधि पारित गरी परीक्षा लिने निर्णय गरेको हो ।
बोर्डले मंसिरको दोस्रो साताबाट परीक्षा लिने गरी कार्यतालिका सार्वजनिक गर्ने भएको छ ।
बोर्डले कक्षा १२ को परीक्षा लिँदा कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कन, १२ को ४० प्रतिशत र १२ बाट प्रयोगात्मक २० प्रतिशतको आधारमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
बोर्डले परीक्षार्थीलाई आफ्नै विद्यालय वा नजिकको विद्यालयमा पुगेर परीक्षा दिनसक्ने व्यवस्था गरेको छ । गएको मन्त्रिपरिषद्को बैठकले विधि, प्रक्रिया र पद्धति पु¥याएर सावधानीका साथ परीक्षा लिन नीतिगत स्वीकृत गरेपछि बोर्डले कार्यविधि तयार गरेको हो ।
‘मन्त्रिपरिषद्ले शिक्षा मन्त्रालयलाई नीतिगत स्वीकृति प्रदान गरेलगत्तै मन्त्रालयले बोर्डलाई परीक्षा व्यवस्थापन र सञ्चालन गर्न निर्देशन दिएको हो।’ –शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले सञ्चारमाध्यमलाई बताएका छन् ।
सोही आधारमा बोर्डको बैठकले परीक्षा गर्ने निर्णय गरेको हो । यस वर्षको परीक्षा १ देखि डेढ घण्टाको हुनेछ । बोर्डले ४० प्रतिशत अंकको आधारमा नयाँ प्रश्नपत्र तयार गर्नेछ । प्रश्नपत्र ढुवानी गर्न असम्भव भए इमेलमार्फत पठाउने तयारी गरेको छ ।
बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले कुनै विषयमा ८० प्रतिशत प्रयोगात्मक हुने त कतिको २० अंकको प्रयोगात्मक परीक्षा हुने भएकाले अंकलाई आधार नमानी प्रतिशतको आधारमा परीक्षा लिने निर्णय गरेको स्पष्ट पारे।
उनका अनुसार दशैंलगत्तै सम्पूर्ण प्रक्रिया पूरागरी छठपछि परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । मन्त्रालयले बोर्डलाई कार्यविधि बनाएर परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने अधिकार दिएलगत्तै बैठक बसेर परीक्षा गर्ने निर्णय गरेको हो ।
बोर्डका सदस्य सचिव दुर्गा अर्यालले परीक्षा सञ्चालन गर्न स्वास्थ्य मापदण्ड र आचार निर्माण गर्ने तयारी भइरहेको जानकारी गराउनुभयो । उनले भने ‘एक दुई दिनभित्रै कार्यतालिका सार्वजनिक गर्नेछौं । त्यसपछि परीक्षासम्बन्धी अन्य प्रक्रिया थाल्नेछौं ।’
यस वर्षको परीक्षामा मूल्याङ्कन प्रणाली ९ग्रिड०लाई निस्क्रिय पारिएको छ । अर्थात् यो पाठबाट यति अंकको प्रश्न सोध्ने, छोटो र लामो उत्तरको प्रक्रियालगायत सबै व्यवस्था हटाइएको छ ।
शिक्षामन्त्री अध्यक्ष रहेको पाठ्यक्रम मूल्याङ्कन तथा व्यवस्थापन परिषद्को बैठकले यस वर्षका लागि ग्रिड प्रणाली निस्क्रिय गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता शर्माले जानकारी दिएका छन् ।
ग्रिड हटेपछि बोर्डले ४० प्रतिशत अंकभारको प्रश्नपत्र तयार गर्नेछ । सोही आधारमा परीक्षा हुनेछ । बोर्डको निर्णयलगत्तै परीक्षा सञ्चालन गर्ने प्रक्रिया शुरु भएको छ ।
दशैंलगत्तै सबै विद्यालयमा उत्तरपुस्तिका पु¥याउने, प्रश्नपत्र निर्माणगर्ने, केन्द्राध्यक्षलाई तालिम दिने, स्वास्थ्य मापदण्डअनुसारको परीक्षा मापदण्ड तयार गरी सबै सरोकारवाला निकायसँग छलफल गर्नेलगायतको काम शुरु हुने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षा लिखितरुपमै लिने जनाउँदै मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता गराएपछि सोही आधारमा मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।







