
काठमाडौं, अन्तरस्थानीय तह र अन्तरप्रदेश कर्मचारी सरुवाको बाटो खुलेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसका लागि तयारी थालेको छ । १ भदौको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी नीतिगत निर्णय गरेको थियो । तर, निर्णय प्रमाणीकरण हुन बाँकी भएकाले कार्यान्वयन भएको थिएन । ‘प्रधानमन्त्री कार्यालयबाट निर्णय प्राप्त भएको छ,’ मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने, ‘अब निर्णय कार्यान्वयनमा लैजान्छौँ ।’
समायोजन भएका कर्मचारीलाई अन्य प्रदेश र स्थानीय तहमा सरुवा गर्न बाटो खुलेको हो । यसअघि समायोजन भएका कर्मचारीलाई अन्यत्र सरुवा गर्ने व्यवस्था थिएन । अब सम्बन्धित स्थानीय तह र प्रदेश सरकारको सहमतिमा उनीहरूको सरुवा हुनेछ । त्यसका लागि स्थानीय तह र प्रदेश दुवैको सहमति आवश्यक हुने प्रवक्ता अधिकारीले बताए ।
केही प्रदेश सरकार र स्थानीय तह भने उक्त निर्णयविरुद्ध देखिएका छन् । संघीय संरचनामा कर्मचारी सरुवामा केन्द्रीय सरकार नै हाबी हुन लागेको उनीहरूको आरोप छ । खासगरी, प्रदेश–२ ले निर्णयविरुद्ध सर्वाेच्च अदालत जाने चेतावनी दिएको छ ।
तर, सम्बन्धित प्रदेश र स्थानीय तहले सहमति नदिएसम्म सरुवा नहुने भएकाले यसमा संघबाट हस्तक्षेप हुने सम्भावना नभएको संघीय मामिला मन्त्रालयका एक अधिकारीले बताए । ‘अब प्रदेश र स्थानीय तहले कुनै कर्मचारी मन परेन भने अन्यत्र पठाएर आफूलाई मन पर्ने पनि ल्याउन सक्छन्,’ ती अधिकारीले भने, ‘कर्मचारीलाई पनि कतै मन परेको छैन भने आफूलाई पायक पर्ने कार्यालयमा जान पाउनेछन् ।’ कतिपय स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधिबीच विवाद रहेकाले पछिल्लो निर्णयबाट समस्या समाधान हुने मन्त्रालयका अधिकारीको दाबी छ । नयाँ पत्रिकाबाट







