
काठमाडौं, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा व्यवस्था भए अनुसार पुनर्कर्जाका लागि आवेदन दिने अवधी थप गरेर असोज मसान्तसम्म पुर्याएको छ । अब वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले एकमुष्ट पुनर्कर्जाका लागि असोज मसान्तसम्म आबेदन गर्न सक्नेछन् ।
यसअघि केन्द्रीय बैंकले भदौ १ मा आवेदन आह्वान गरी असोज १४ सम्मको समय दिएको थियो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसकका कारण उत्पन्न असहज परिस्थितिले पुनकर्जा माग गर्ने अवधी असोज मसान्तसम्म लम्ब्याइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तो पुनकर्जा सुविधा एकमुष्ट प्रदान हुनेछ । राष्ट्र बैंकले एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनकर्जा तथा विशेष पुनकर्जाका लागि आबेदन आह्वान गरेको हो । मौद्रिक नीतिमा एक ऋणीलाई ५ करोडसम्मको पुनर्कर्जा सुविधा ५ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने जनाएको छ ।







